रुस्दीको 'नाइफ'
काठमाडौँ — उपन्यास लेखेकै कारण इरान सरकारले टाउकाको मूल्य तोकेपछि विश्वप्रसिद्ध लेखक सलमान रुस्दी वर्षौंसम्म लुकेर बसे । एक दशकभन्दा लामो समयको विरक्त जीवनबाट अघाएका रुस्दीलाई एक दिन लाग्यो, ‘ओहो ∕ मैले त मेरो आफ्नै जीवन पो बाँच्नुपर्छ ।’ त्यसलगत्तै उनको दैनिकी फेरियो । बिस्तारै सामाजिक गतिविधिमा सक्रिय हुन थाले ।
अनि, देखिन थाले साहित्यिक कार्यक्रममा निर्धक्क र कुनै सुरक्षाबिना नै । २०२२ अगस्ट १२ को दिन भने रुस्दीको जीवनमा निकै भयानक भएर आयो, एक छटपटाहटपूर्ण सपनाजस्तो ।
अमेरिको न्युयोर्क सहरमा आयोजित एक साहित्यिक कार्यक्रममा बोल्नका लागि स्टेजमा उभिएका थिए रुस्दी । राल्फ हेनरी रिजसँग हुने एउटा अन्तरसंवादका लागि कार्यक्रममा पुगेका थिए उनी । तर संवाद हुनुअघि नै रुस्दीमाथि भयानक आक्रमण भयो । अमेरिकाको न्युजर्सीका २४ वर्षीय हादी मतारले हत्या गर्ने उद्देश्यले रुस्दीको पेट र घाँटीमा कम्तीमा एक दर्जन पटक चक्कु प्रहार गरे ।
आक्रमणपछि रुस्दी तत्कालै भुइँमा ढले । कार्यक्रममा उपस्थित मानिसहरू मञ्चमा पुगेर उठाएपछि उनलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पताल पुर्याइयो । सात घण्टा लामो शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थाबारे सूचना सार्वजनिक गरियो । ‘खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन्,’ रुस्दीका एजेन्ट एन्ड्रिउ वाइलले भनेका थिए, ‘पाखुराका नसा काटिएका छन् र चक्कु प्रहारबाट कलेजोमा क्षति पुगेको छ ।’
उपचारका क्रममा अस्पतालमा १८ दिन र रिहाबमा तीन साता बिताए रुस्दीले । त्यतिबेला एक शल्यचिकित्सकले रुस्दीलाई भनेका थिए, ‘तपाईं वास्तवमा भाग्यमानी पनि हो र अभागी पनि ।’ त्यतिबेला रुस्दीले सोधे– भाग्यमानी कुन अर्थमा ? ‘तपार्इंलाई आक्रमण गर्ने व्यक्तिलाई चक्कु प्रहार गरेर मानिसलाई कसरी मार्ने भन्ने थाहा थिएन ।
चिकित्सकले भनेजस्तै भाग्यमानी भएका कारण रुस्दीले पुनर्जीवन पाए । तर विडम्बना ∕ अमेट घाउ बोक्न बाध्य भए । चक्कु आक्रमणमा कलेजोमा गहिरो चोट लागेका कारण उनले दायाँ आँखाको ज्योति गुमाए । उनको एउटा हात केही काम गर्न सक्ने अवस्थामा रहेन । आक्रमणलगत्तै प्रहरीले नियन्त्रणमा लिएका मतारलाई दोस्रो तहको हत्या अभियोग लगाइएको छ । पुनर्जीवन पाएपछि रुस्दीले २०२३ मा पहिलो उपन्यास बजारमा ल्याए, ‘भिक्ट्री सिटी’ । यद्यपि, उक्त पुस्तक लेखनका लागि उनले पहिलेदेखि नै तयारी गरिरहेका थिए । उक्त पुस्तकमा रुस्दीले १४ औं शताब्दीमा एक सहरमा शासन गर्ने र पितृसत्तात्मक समाजलाई चुनौती दिने महिलाको कथा लेखेका छन् ।
जीवन नै खतरामा पार्ने २०२२ को आक्रमणका विषयमा भने रुस्दीले हालै एक पुस्तक बजारमा ल्याएका छन् । र, यसको नाम हो, ‘नाइफ ः मेडिटेसन्स् आफ्टर एन एटेम्प्टेड मर्डर’ । पुस्तकमा रुस्दीले आफूमाथिको चक्कु आक्रमण र त्यसपछि गुजार्नु परेका कठिन दिनको विस्तृत विवरण उतारेका छन् । खासमा यो त्यतिमा मात्रै सीमित छैन । यसमा उनले आफ्नो जीवनबारे लेखका छन् । आफ्नो विवाह र सन्तानका विषय उठाएका छन् । र, यसमा मृत्युको मुखबाट बाँचेका रुस्दीको जीवनको नयाँ संस्करणबारे उल्लेख छ ।
रुस्दीले पुस्तकका ३० पानामा आफू र आक्रमणकारीबीच भएको संवाद उल्लेख गरेका छन् । कल्पना गरेर तयार पारिएको उक्त संवाद पुस्तकको सबैभन्दा रमाइलो अंश भएको रुस्दी बताउँछन् । पुस्तकमा उनले चक्कु प्रहार गर्ने मातरको नाम भने लेखेका छैनन् । आक्रमणकारीलाई उनले ‘ए’ भनेर उल्लेख गरेका छन् ।
‘त्यो मात्र २४ वर्षको व्यक्ति हो । उसलाई थाहा हुनुपर्थ्यो कि उसले आफ्नो र मेरो पनि जीवन बर्बाद गर्न गइरहेको छ । तर पनि ऊ हत्या गर्न तयार थियो,’ रुस्दी भन्छन्, ‘ऊ कुनै आपराधिक पूष्ठभूमि नभएको व्यक्ति हो र कुनै प्रकारको आतंकवादी निगरानी सूचीमा पनि थिएन ।’
‘खासमा मलाई ती व्यक्ति (आक्रमणकारी) सँग भेट्न र केही प्रश्न सोध्न मन थियो,’ रुस्दीले गार्डियनसँगको अन्तर्वार्तामा भनेका छन् । तर पेरिसको चक्कु आक्रमणको घटनाबारे अध्ययन गरेपछि आफ्नो सोच बदलिएको रुस्दी बताउँछन् ।
उक्त मुद्दाको सुनुवाइको अन्त्यमा घटनाका पीडित स्यामुयल बेक्केटले ‘मलाई किन चक्कु प्रहार गरेको’ भनेर आक्रमणकारीलाई सोधेका थिए । तर त्यसको जवाफमा आक्रमणकारीबाट उनले पाएको जवाफ थियो, ‘मलाई थाहा छैन । तर मलाई माफ गरिदिनूस् ।’ त्यसपछि भने आफूले कल्पना गरेर संवाद लेख्नु नै उचित हुने ठानेको रुस्दीको भनाइ छ ।
आक्रमणकारी मतारले जेलबाटै अमेरिकी अखबार न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिएका थिए । त्यसमा उनले ‘रुस्दी इस्लामलाई आक्रमण गर्ने व्यक्ति भएको’ दाबी गरेका थिए । मातरले ‘रुस्दी आक्रमणपछि पनि बाँच्न सफल भएकामा आफूलाई आश्चर्य लागेको’ बताएका थिए ।
साहित्यिक लेखनमा करिब पाँच दशक लामो अनुभव छ रुस्दीसँग । १९४७ जुन १९ मा भारतको बम्बे (हाल मुम्बई) मा कश्मीरी मुस्लिम परिवारमा जन्मिएका हुन् उनी । अध्ययनका लागि १९६४ मा बेलायत पुगेका अहमद सलमान रुस्दी पछि उतैको नागरिक बने । बेलायती नागरिक बनेपछि उनले मुस्लिम धर्मका संस्कार त्याग्दै गए । विज्ञापनसम्बन्धी काम गरेका रुस्दीले केही समय अभियनमा पनि बिताए । तर अभिनय क्षेत्रमा खासै नजमेपछि उनी साहित्यतिर लागे ।
१९७५ मा पहिलो पुस्तक ‘ग्रिमस’ बजारमा ल्याए । तर पुस्तकले सोचेअनुसार सफलता पाएन । तर पनि उनी आलोचकका नजरमा ‘सम्भावना बोकेका लेखक’ का रूपमा भने दरिए । पहिलो पुस्तक लेखेको ६ वर्षपछि उनको दोस्रो कृति ‘मिडनाइट्स चिल्ड्रेन’ बजारमा आयो । यसले उनलाई पहिलो पुस्तकको असफलता मात्र बिर्साइदिएन, बुकर पुरस्कार पनि जित्यो । रुस्दीले पाँच वर्ष लगाएर तयार पारेको पुस्तक त्यतिबेला बेलायतमा मात्रै १० लाख प्रतिभन्दा बढी बिक्री भएको थियो । सन् १९८८ मा ‘द सटानिक भर्सेस’ लेखेपछि भने उनको जीवनले नयाँ मोड लियो । पुस्तकमा ईश्वर निन्दा गरेको भन्दै उनलाई इस्लाम धर्मसँग सम्बन्धित कैयौं व्यक्तिले ज्यान मार्ने धम्की दिए । जसका कारण रुस्दीको दैनिकी फेरियो ।
पुस्तकले इस्लाम धर्मको अनादर गरेको भन्दै विश्वभर नै हंगामा भयो । विवाद र आक्रोश बढ्दै गएपछि ज्यान जोगाउन उनी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भए । बेलायत सरकारले रुस्दीलाई प्रहरी सुरक्षा घेराभित्र राख्न थाल्यो । तर पुस्तकमाथिको विवाद चर्किंदै गएपछि ‘साहित्यिक विश्व’ नै दुई धारमा विभाजितजस्तै देखियो । रुस्दीविरुद्ध उभिएको मुस्लिम विश्वले लेखक र पुस्तकप्रति कडा प्रतिक्रिया दिन थाल्यो । यद्यपि, पश्चिमा मुलुक भने रुस्दीको पक्षमा देखिए । पश्चिमा देशका लेखक तथा बौद्धिक वर्गले मुस्लिम कट्टरपन्थीले रुस्दीलाई दिएको धम्की अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा भन्दै विरोध गरिरहे । उपन्यास अति यथार्थवादी र उत्तरआधुनिक भएको तथा यसले ईश्वर–निन्दा नगरेको उनीहरूको दाबी थियो ।
रुस्दीको जीवन नै खतरामा पार्ने पुस्तक ‘द सटानिक भर्सेस’ १९८८ को सेप्टेम्बरमा छापिएको हो । पुस्तकमा उठाइएको विषयवस्तु धर्मविरोधी रहेको भन्दै मुस्लिम समुदायले आपत्ति जनायो । फलस्वरूप रुस्दीको जन्मदेश भारतले नै पहिलो पटक पुस्तकमाथि प्रतिबन्ध लगायो । त्यसपछि पाकिस्तानलगायत विभिन्न मुस्लिम देश तथा दक्षिण अफ्रिकाले पनि प्रतिबन्ध लगाए ।
तर, पश्चिमा देशहरूमा उपन्यासको निकै प्रशंसा भयो र ह्विटब्रेड पुरस्कार प्राप्त गर्यो । त्यसले झन् मुस्लिम समुदायलाई आक्रोशित बनायो र सडक प्रदर्शन हुन थाले । मुस्लिम धर्मगुरुहरूले त्यसलाई ‘इस्लामको अपमान’ का रूपमा व्याख्या गर्न थाले । उनीहरूले पुस्तकमा उल्लेख गरिएका कैयौं विषयवस्तुमा आपत्ति जनाएका थिए ।
पुस्तकमा यौनकर्मीका रूपमा चित्रित दुई पात्रको नाम इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका दुई श्रीमतीको नामसँग मिलेपछि मुस्लिम समुदाय निकै आक्रोशित बनेको थियो । त्यस्तै, मोहम्मदले कुरानमा राक्षसबाट प्रभावित भएको ठानेर हटाएका दुई सन्दर्भ (भर्सेस) सँग पुस्तकको नाम जोडिएका कारण पनि यसले विरोध र आक्रोश निम्त्याएको थियो ।
पुस्तक प्रकाशन भएको अर्को वर्ष सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले रुस्दीको हत्या गर्न फतवा नै जारी गरे । फतवामा पुस्तक प्रकाशनमा संलग्न सबैको हत्या गर्न भनिएको थियो भने रुस्दीको हत्यामा संलग्नलाई पुरस्कृत गर्ने उल्लेख थियो । खोमेनीले रुस्दीको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोके । पुस्तकका कारण पश्चिमा देश र इरानबीचको कूटनीतिक सम्बन्धमा समेत तनाव उत्पन्न भयो । इरानको राजधानी तेहरानस्थित बेलायती दूतावासमा आक्रमणहरू भए । बेलायत र केही मुस्लिम नेताले त्यसलाई परिमार्जन गर्न आग्रह गरे । अमेरिका, फ्रान्स र अन्य पश्चिमा देशले रुस्दीलाई दिइएको हत्याको धम्कीको निन्दा गरे । केहीले भने इरानी सर्वोच्च नेता रुहोल्लाहलाई समर्थन गरे ।
सन् १९८९ जनवरीमा बेलायतको ब्राडफर्डमा मुस्लिमहरूले विरोध जनाउँदै पुस्तकको एक प्रति जलाए । त्यसको केही महिनामा रुस्दीको विरोधमा भएका प्रदर्शनमा केही मानिसको ज्यान गयो । पुस्तक प्रकाशक भाइकिङ पङ्गुइनको लन्डनस्थित कार्यालयमा मुस्लिमहरूले धर्ना दिए भने न्युयोर्क कार्यालयमा हत्याको धम्की पठाए । तर पुस्तक भने दुवै देशमा ‘बेस्टसेलर’ बन्यो । युरोपेली आर्थिक समुदाय (ईईसी) मा आबद्ध देशले अतिवादी मुस्लिमले दिएको प्रतिक्रियाको विरोधमा भएका प्रदर्शनलाई समर्थन गरे र अस्थायी रूपमा तेहरानबाट राजदूतहरूसमेत फिर्ता बोलाए ।
श्रीमतीसहित लुकेर बसेका रुस्दीले त्यसबेलासम्म मुस्लिम समुदायमाथि परेको चोटका लागि भन्दै गहिरो क्षमायाचना गरे । रुस्दीले ईश्वर निन्दाका अभियोग अस्वीकार गर्दै आएका छन् । आफ्नो उपन्यासले मुख्य रूपमा आप्रवासी अनुभव केलाएको रुस्दीको दाबी छ । तर इरानी नेता खोमेनीले रुस्दीको हत्याको आह्वान जारी नै राखे ।
सन् १९८९ को फेब्रुअरीमा रुस्दीविरुद्ध मुस्लिमहरूले मुम्बईमा ठूलो विरोध प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १२ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए । त्यस्तै, भारत प्रशासित कश्मीरमा पुस्तकको विरोधमा गरिएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा ३ जनाको मृत्यु भएको थियो । कम्तीमा एक सय जना घाइते भएका थिए ।
पाकिस्तानको इस्लामाबादस्थित अमेरिकी सूचना केन्द्रबाहिर चर्केको हिंसामा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा ८३ जना घाइते भए । १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खोमेनीले रुस्दीको हत्याको आह्वान गर्दा दिल्लीको जामा मस्जिदका शाही इमाम अब्दुल्ला बुखारीले पनि उनलाई समर्थन गरेका थिए । पछि सन् २००४ मा मुम्बई आउँदा पनि मुस्लिमहरूले रुस्दीको चर्को विरोध गरेका थिए ।
‘द सटानिक भर्सेस’ को विषयवस्तुका कारण लेखक रुस्दीले मात्रै धम्कीको सामना गर्नुपरेन, पुस्तकका जापानी अनुवादक हितोसी इगारसी युनिभर्सिटी नर्थ इस्ट अफ टोकियोमा १९९१ को जुलाईमा मृत फेला परे । संस्कृति विषयका सहायक प्राध्यापक हितोसीलाई कैयौं पटक छुरा प्रहार गरेर छाडिएको थियो । १९९१ मै इटालीका अनुवादक इटोरे क्रपिओलोलाई पनि छुरा प्रहार गरियो । तर उनी ज्यान जोगाउन सफल भए ।
चार पटक विवाह गरेका रुस्दीका दुई सन्तान छन् । उनी २००० यता अमेरिकामा बस्दै आएका छन् । रुस्दीले साहित्य सेवाका लागि बेलायती महारानीबाट दिइने उच्च नाइट उपाधि पाइसकेका छन् । २००७ मा नाइट उपाधि दिएका बेला पनि पाकिस्तान र इरानमा विरोध प्रदर्शन भएका थिए ।
‘द सटानिक भर्सेस’ प्रकाशनपछि जारी भएको फतवा र विवादलाई केन्द्रमा राखेर उनले ‘जोसेफ एन्टोन’ शीर्षकमा संस्मरणसमेत लेखेका छन् । ‘मिडनाइट चिल्ड्रेन’मा भारतीय कथावस्तु उठाएका रुस्दीले तेस्रो उपन्यास ‘सेम’मा पाकिस्तानबारे लेखे । रुस्दीका ‘हरुन एन्ड द सी अफ स्टोरिज’, ‘द मुअर्स लास्ट साई’, ‘द ग्राउन्ड बिनिथ हर फिट’, ‘फ्युरी’, ‘सालिमार द क्लाउन’, ‘द इन्च्यान्ट्रेस अफ फ्लोरेन्स’, ‘टु इअर्स एट मन्थ्स एन्ड ट्वेन्टी एट नाइट्स’, ‘द गोल्डेन हाउस’, ‘किचोट’ लगायतका कृति प्रकाशित छन् ।
(एजेन्सीहरूको सहयोगमा)
प्रकाशित : वैशाख १९, २०८१ १०:१७