२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

रंगमञ्चमा ‘मनसरा’ निर्देशकको कविता

दीपक परियार

पोखरा — जागिर नपाएर भौंतारिएका युवक थकित हुँदै घर फर्किन्छन् । आफ्ना शैक्षिक प्रमाणपत्रहरू ओल्टाइपल्टाइ गर्छन् । त्यतिबिघ्न पढेर हातमुख जोर्ने मेलोमेसो पनि नहुँदा थकथकी मान्छन् । प्रमाणपत्रमाथि रिस पोख्छन् । अर्का युवक पृष्ठभूमिमा कवि उपेन्द्र सुब्बाको कविता ‘समान अन्तर’ वाचन गर्छन् ।

रंगमञ्चमा ‘मनसरा’ निर्देशकको कविता

बाउले नपढेर दुःख पाए

मैले पढेर दुःख पाएँ

गाउँमा–

बाउ हलो जोतिराछन्

म सहरमा टाउको जोतिराछु ।

पोखरा थिएटरले ‘रंगमञ्चमा काव्य’ को दोस्रो शृंखलामा शनिबार उपेन्द्र सुब्बाका कविता मञ्चन गरेको हो । थिएटरका कलाकारले उनको ‘खोलाको गीत’ कविता संग्रहका पाँच कवितालाई नाटकीय रूप दिए । कलाकारले कविताको भावसँग मिल्दो कथामा अभिनय पस्किए । सुब्बाका कविता ‘समान अन्तर’, ‘बाटो’, ‘सायद’, ‘जँड्याहाको तर्क’ र ‘पात’ कविता मञ्चनमा समेटिएका थिए । सुन्दूर युवतीको प्रेममा परेका बेरोजगार युवकको कथा कविता मञ्चनमा प्रस्तुत थियो ।

फुपूको छोरा पल्टनबाट आएर युवतीलाई बिहे गरेपछि विरक्तिएर जँड्याहा र पछि भिक्षु बनेको कथा कविता मञ्चनमा देखाइएको थियो । नारायण न्यौपानेको परिकल्पना र निर्देशन रहेको कविता मञ्चनमा रमेशबाबु तिमिल्सिना, शैलताज कुँवर, धनकाजी श्रेष्ठ, रोशनी रामदाम, सुसन पौडेल र आनिरा अधिकारीको अभिनय थिथो ।

थिएटरमा उपेन्द्र सुब्बा आफ्ना कविता सुनाउन पनि उपस्थित भए । मञ्चमा पुग्नेबित्तिकै उनले कविता वाचन सुरु गर्न धक माने । ‘म कविता वाचनबाट डराउँदैडराउँदै भाग्ने गरेको छु,’ उनले भने, ‘मैले मञ्चमा कविता वाचन नगरी कविता प्रकाशन गरें ।’ यति भनेर उनले ‘ढुंगाको यात्रा’ बाट आफ्नो कविता वाचन सुरु गरे । कविता मञ्चनको उद्देश्य कविताको नाट्य रूपान्तरण मात्रै थिएन, चलचित्र ‘मनसरा’ को प्रवर्द्धन पनि थियो । उनको लेखन र निर्देशनमा तयार भएको ‘मनसरा’ वैशाख २१ बाट प्रदर्शनमा आउँदै छ । कविता मञ्चनमा उनीसहित कलाकार प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान र कार्यकारी निर्माता सिजन दाहाल सहभागी भए ।

उनले कविता मञ्चनमा आएर आफ्नो चलचित्रको प्रवर्द्धन गर्नु पनि ‘भ्रष्टाचार’ भएको भन्दै माफी माग्दा हल हाँसोले गुञ्जियो । आफू भड्किँदैभड्किँदै कविबाट फिल्म लेखक हुँदै निर्देशक बनेको स्विकारोक्ति उनको थियो । ‘म के बन्छु भनेर उद्देश्य भएको मान्छे रहेनछु । जीवनमा एउटा उद्देश्य राखेर, एउटा विशेष विषय वा क्षेत्रमाथि दख्खल राखेको भए म यसरी भड्किएर हिँड्न पर्दैनथ्यो होला,’ उनले भने, ‘जीवनभर कविता लेखेर, कविता साधनामा लागेर, कवितामा नै केही योगदान गरेर बिताउन पाएको भए मेरो जिन्दगीले एउटा अर्थ पाउँथ्यो होला । म निकै भड्किइसकेँ ।’

कविता मञ्चनमा कलाकार प्रवीण खतिवडा र मेनुका प्रधानले उपेन्द्रका कविता वाचन गरे । कलाकार मिरुना मगरले आफ्नी आमा शशी थापा सुब्बाको कविता वाचन गरिन् । मुक्तक मञ्च नेपालसँगको सहकार्यमा पोखरा थिएटरले हरेक तीन–तीन महिनामा गर्ने ‘रंगमञ्चमा काव्य’ शृंखलामा यसअघि कवि राजु स्याङ्तान प्रस्तुत भएका थिए ।

प्रकाशित : वैशाख ९, २०८१ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?