अमेरिकामा केसीलाई एएपीआई लाइफ टाइम अचिभमेन्ट अवार्ड
काठमाडौँ — अमेरिकामा प्रल्हाद केसीलाई ‘द कमनवेल्थ अफ मासाचुसेट्स राज्यको एसियन अमेरिकन तथा प्यासिफिक आइस्ल्यान्डर कमिसन’ (एएपीआई) ले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
सन् १९७० को दशकमा पढ्नका लागि अमेरिका गएका केसीले मानव अधिकारको क्षेत्रमा परामर्शदाताको रुपमा काम गरेका छन् । केसीसँग व्यवसाय र इन्जिनियरिङ व्यवस्थापनसम्बन्धी अनुभव पनि छ ।
काठमाडौंको दरबार हाइस्कुलमा पढेर अमेरिका पुगेका उनलाई लामो समयदेखि एएपीआई समुदाय र बाहिरसमेत सहयोग गरेको भन्दै सम्मान गरिएको हो । उनलाई बोस्टनमा आयोजित १६ औं वार्षिक युनिटी डिनरमा सम्मान गरिएको हो ।
केसीले आफू एउटा युवा विद्यार्थीको रुपमा अमेरिका आएको र लामो समय गरेको योगदानको कदर गर्दै अवार्ड पाएको बताए । उनले भने, ‘म अहिले अमेरिकामा बस्छु । तर यो अवार्ड मैले पाउनु भनेको नेपालीहरुको लागि पनि गौरवको विषय हो ।’
उनले यो अवार्ड आफ्नो जीवनको एउटा महत्वपूर्ण उपलब्धि भएको पनि बताए ।
प्रकाशित : वैशाख १८, २०८१ १६:३८