२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तीनकुने–जडीबुटीमा फ्लाइओभर, विमानस्थलमुनि सुरुङ जाइकाको सहुलियतपूर्ण ऋणमा बनाइने 

केही समयभित्रै जाइका र नेपाल सरकारबीच सम्झौता गर्ने तयारी रहेको सडक विभागको दाबी 
विमल खतिवडा

काठमाडौँ — जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सहुलियतपूर्ण ऋण सहयोगमा तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र सुरुङ निर्माण गरिने भएको छ । यस क्षेत्रमा ट्राफिक जाम धेरै हुने हुँदा विकल्पमा फ्लाइओभर र सुरुङ बनाउन लागिएको हो ।

तीनकुने–जडीबुटीमा फ्लाइओभर, विमानस्थलमुनि सुरुङ जाइकाको सहुलियतपूर्ण ऋणमा बनाइने 

यी संरचना निर्माणका लागि जाइकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । केही समयभित्रै जाइका र नेपाल सरकारबीच सम्झौता गर्ने तयारी रहेको सडक विभागले जनाएको छ ।

ऋण सम्झौता भएपछि यसको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पारिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले बताए । ‘यस खण्डमा गुड्ने सवारी साधनको चाप धेरै छ,’ जैसीले भने, ‘त्यसलाई व्यवस्थापन गर्न फ्लाइओभर र सुरुङ बनाउन लागिएको हो ।’ पूर्वसम्भाव्यता अध्ययनअनुसार तीनकुनेबाट मुनिभैरव मन्दिर नजिकसम्म ६ सय ६५ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । मुनिभैरव मन्दिर नजिकैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनिबाट जडीबुटी निस्कने गरी ६ सय १० मिटर दूरीको सुरुङ निर्माण हुनेछ । त्यहाँबाट मनोहरा खोलामा निर्माण भएको नयाँ पुलसम्म जोड्ने गरी करिब २ सय ३८ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । विमानस्थलमुनिबाट सुरुङ बनाउन दिने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक देखिएकाले अहिलेसम्म कुनै समस्या नभएको प्रमुख जैसीले बताए । मुनिभैरवको मन्दिर सुरुङ निर्माणस्थलबाट केही माथि सारिनेछ ।

‘जाइकाले निर्माणमा ऋण सहयोग गर्छु भनिसकेको छ, औपचारिक रूपमा सम्झौता हुन मात्र बाँकी छ,’ जैसीले भने, ‘यही आर्थिक वर्षभित्र ऋण सम्झौता भए आगामी आर्थिक वर्षमा डिजाइनको काम थालिनेछ ।’ डीपीआर गरेपछि लागत र दूरी यकिन हुने उनको भनाइ छ । ‘उपत्यकामा मात्र चल्ने सवारीसाधन नभई यो खण्ड भएर पूर्वका लागि लामा दूरीका सवारीसाधन पनि छुट्ने गरेका छन्,’ उनले भने, ‘त्यहीअनुसार सुरुङ र फ्लाइओभर चार लेनको बनाइनेछ ।’ पूर्वसम्भाव्यता अध्ययन करिब ६ महिनाअघि सकिएको उनले बताए ।

आयोजना निर्माण अवधि ६ वर्षको हुनेछ । नागरिक उड्डयनले दिएको समय तालिकाअनुसार निर्माणको काम हुनेछ । ‘अहिलेसम्म प्राधिकरणले भनेअनुसार विमानस्थलमुनि सुरुङ निर्माणको काम राति १ बजेबाट बिहान ५ बजेसम्म मात्र हुनेछ,’ उनले भने, ‘रातिमा काम गर्नुपर्ने भएकाले लागत र समय दुवै बढी लाग्ने देखिएको हो ।’ पूर्वसम्भाव्यता अध्ययन गर्न जाइकालाई करिब डेढ वर्ष लागेको थियो । यस खण्डमा फ्लाइओभर र सुरुङ निर्माण गर्ने चर्चा धेरै भए पनि अहिले यसलाई निर्माणमा लैजाने गरी काम भइरहेको प्रमुख जैसीको भनाइ छ ।

सातदोबाटो र एकान्तकुनामा अन्डरपास निर्माणको ठेक्का भएन सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमा उपत्यकाको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भनेको थियो । अहिलेसम्म ग्वार्कोबाहेक अन्यत्र काम सुरु हुन सकेको छैन । ग्वार्कोमा फ्लाइओभर निर्माण जारी छ । सातदोबाटो र एकान्तकुनामा कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने भन्दै अध्ययनको काम सकिसकेको छ । अध्ययनअनुसार सातदोबाटोमा बन्ने अन्डरपासको दूरी ५४०.७८ मिटर हुनेछ । अहिले अध्ययनमा कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने उल्लेख भएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनायो । अध्ययनअनुसार यसको निर्माण लागत ७२ करोड रुपैयाँ हुनेछ, जुन अन्डरपास चार लेनको हुनेछ ।

एकान्तकुनामा पनि अन्डरपास नै निर्माण गर्ने गरी अध्ययन गरिएको छ । यसको दूरी ३ सय मिटर हुनेछ । निर्माणमा ५० करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ । यी दुवै अन्डरपासको ठेक्का इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत गरिने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए । निर्माणमा जान सकिने गरी दुवै खण्डको अध्ययन पूरा गरिएको हो । यो खण्डमा सवारी चाप धेरै हुने भएकाले ट्राफिक जाम कम गराउन भन्दै विकल्पका रूपमा अन्डरपास निर्माण गर्न लागिएको उनको भनाइ छ ।

नेपाल सरकारले बनाउने भएकाले स्रोत सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालय पठाए पनि अहिलेसम्म स्रोत सुनिश्चितता भएको छैन । नयाँ बानेश्वरको अन्डरपासको पूर्वसम्भाव्यता अध्ययनको काम सकिए पनि फाइनल रिपोर्ट तयार भइसकेको छैन । कलंकीको जस्तै बिजुलीबजारबाट संसद् भवन अगाडिसम्म अन्डरपास बनाउने गरी अध्ययन भए पनि यसमा थप काम अघि बढ्न सकेको छैन ।

प्रकाशित : वैशाख १९, २०८१ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?