२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

नेपालको निजी क्षेत्रसँग साझेदारी बढाउँदै एडीबी

काठमाडौँ — अन्तर्राष्ट्रिय वित्त संस्था एसियाली विकास बैंक (एडीबी) को दक्षिण, मध्य र पश्चिम एसिया मामिलासम्बन्धी उपाध्यक्ष यिङमिङ याङले नेपाल सरकारका विकास प्राथमिकताहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

नेपालको निजी क्षेत्रसँग साझेदारी बढाउँदै एडीबी

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा उपाध्यक्ष याङले मंगलबार निजी क्षेत्रको विकास र जलवायु परिवर्तनसँगै विपद् जोखिम व्यवस्थापनमा सहयोग जारी राख्ने बताए ।

अर्थमन्त्री वर्षमान पुनसँग पनि उपाध्यक्ष याङले गत शुक्रबार भेट गरेका थिए । यी भेटघाटका क्रममा उनले विशेषतः गरिबीको दर घटाउनेजस्ता नेपालका सामाजिक–आर्थिक प्रगतिको प्रशंसा गर्दै नेपाल र एडीबीबीचको दीर्घकालीन साझेदारीमा जोड दिए । निकट भविष्यमै नेपालका लागि बन्न लागेको ‘कन्ट्री पार्नटरसिप स्ट्राटेजी २०२५–२०२९’ बारे पनि छलफल गरेको एडीबीले जनाएको छ । उक्त रणनीति विश्व बैंकको कन्ट्री पार्टनरसिप फ्रेमवर्कसँगै संयुक्त रूपमा तयार हुने क्रममा छ ।

चारदिने नेपाल भ्रमणका अवसरमा याङले लगानी सम्मेलनमा पनि सहभागिता जनाए । आफ्नो कि–नोट स्पिचमा उनले एडीबीले नेपालमा निजी क्षेत्रसँगको आफ्नो सहकार्यलाई अझै विस्तार गर्न प्रयासरत रहेको उल्लेख गरे । एडीबीले सार्वजनिक–निजी साझेदारीका लागि कारोबारसम्बन्धी परामर्श सेवासँगै एसिया प्यासिफिक प्रोजेक्ट प्रिपरेसन फसिलिटिमार्फत स्रोत उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गर्ने याङको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी पहलका लागि सहुलियतपूर्ण र अनुदानका स्रोत परिचालन गर्नेबारे पनि उनले प्रतिबद्धता जनाए । गत आइतबार मातातीर्थ सबस्टेसन उद्घाटनका क्रममा याङले नेपालको ऊर्जा क्षेत्र विकासमा एडीबीको भूमिकाप्रति गर्व लागेको धारणा व्यक्त गरेका थिए । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका थिए ।

प्रकाशित : वैशाख १९, २०८१ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?