धनगढी — यति बेला तराईमा धानको बेर्ना राख्ने समय सुरु भइसक्यो । तर कैलालीको कैलारी गाउँपालिकाका २० गाउँका डेढ हजारभन्दा बढी किसानको ९ हजार हेक्टर जमिन सिँचाइ नपाएर समयमा खेती लगाउन नपाउने अवस्थामा छ ।
कैलारी गाउँका किसानको सिँचाइ अभावको समस्या टार्न गुर्गी सिँचाइ योजनाका नाममा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई वर्षदेखि संघ सरकारबाट विशेष अनुदानमार्फत बजेट विनियोजन गर्दै आएको छ । तर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीको लापरबाहीका कारण विनियोजित बजेट बर्सेनि फ्रिज हुँदै आएको छ ।
चालु आर्थिक वर्षमा पनि बजेट फ्रिज हुने अवस्था आउन थालेको भन्दै किसान आक्रोशित छन् । डिभिजन कार्यालयले भने डीपीआर तयार नभएको भन्दै किसानलाई टार्दै आएको छ । गत आर्थिक वर्ष ०७९/८० मा कैलारी गाउँपालिकामा गुर्गी सिँचाइ आयोजना निर्माणका लागि ६ करोड बजेट विनियोजन भएको थियो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयअन्तर्गत कार्यान्वयनका लागि विनियोजित उक्त बजेट कार्यालयको लापरबाहीले फ्रिज भयो ।
चालु आर्थिक वर्ष ०८०/८१ मा सोही शीर्षकअन्तर्गत १२ करोड विनियोजित छ । तर डिभिजन कार्यालयले योजना निर्माणको सुरसारै नगर्दा यस वर्ष पनि उक्त बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । किसान भने सिँचाइको वैकल्पिक व्यवस्था नभएकाले अकासे वर्षाको भरमा छन् । ‘योजना निर्माणका लागि पोहोर पनि बजेट आएको थियो, यस वर्ष पनि बजेट आएको छ । तर कार्यान्वयन नै गर्दैनन्,’ कैलारी ५ पबेरा गाउँका किसान भीष्म चौधरीले भने, ‘खेतीपाती गर्ने जमिन छ । तर सिँचाइ नभएर खेतीपाती राम्रो हुँदैन ।’
कैलारी–१ का बिसनपुर, लवनपुर, मनाउ, हरिनगर, डम्मरा गाउँ, वडा नम्बर ५ का सडकपुर, पबेरा, गोब्रैला, जग्दहवा, मनिकापुर, बैसपुर गाउँ र वडा नम्बर ७ का सतनपुर, सिउपुर, नारायणपुर, वसन्ता, छटकपुर वसन्ता, भुइयाफाटा, रामपुर गाउँका किसानको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नभएर बाँझै छ । यी गाउँमा थारू समुदायको बसोबास छ । स्थानीयका अनुसार कैलालीकै सबैभन्दा पुरानो र ठूलो सिँचाइ कुलो हो, गुर्गी सिँचाइ कुलो । तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले गाउँलेलाई परिचालन गरेर परम्परागत शैलीमा कुलो निर्माण गरेको स्थानीय बताउँछन् ।
स्थानीयले वर्षौंसम्म त्यही परम्परागत कुलोबाट सिँचाइको काम काम चलाएका थिए । कुलो अहिले पनि छ । ०२६ सालमा कैलारी २ कुकुरभुक्कामा ढुंगाको बाँध बनाएर खेतसम्म पानी लगिएको थियो । ‘वर्षको एक पटक सबै गाउँले मिलेर कुलो सोहर्न जान्थ्यौं,’ भीष्मले भने, ‘माटो र स्याउलाले बारेर परम्परागत शैलीमा कुलो निर्माण गरिएको थियो ।’ पछि जिल्ला विकास समिति (जिविस) ले पनि त्यही ठाउँमा बाँध निर्माण गरेर सिँचाइ कुलो सञ्चालनमा ल्याएको थियो ।
आर्थिक वर्ष ०६२/६३ मा तत्कालीन जिविसबाट सिँचाइ आयोजनाका लागि डेढ करोड बजेट विनियोजन भयो । उक्त बजेटबाट पक्की बाँध तथा फराकिलो सिँचाइ कुलो निर्माण भयो । तर ०६४ सालमा आएको बाढीले बाँध भत्काएपछि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको स्थानीय दयाशंकर चौधरी बताउँछन् । बाँध भत्किएकाले सिँचाइको असुविधा मात्रै होइन, कैलारी ७ का बस्ती बर्खामा बर्सेनि डुबानमा पर्छन् । कुलोको बाँध बनेको भए बाढी पनि रोकिन्थ्यो ।
‘त्यही बाँध नभएकाले हामीलाई बर्खामा बाढीले बिचल्ली पार्छ,’ स्थानीय तीर्था चौधरीले भने, ‘हामीलाई त दोहोरो संकट भएको छ ।’ बजेट आएर पनि कार्यान्वयन नभएकामा यति बेला कैलारीका प्रभावित किसान आक्रोशित छन् । गत वर्ष र यस वर्ष पनि पटकपटक उनीहरूले प्रदेश सरकारको भौतिक योजना र जलस्रोत तथा सिँचाइ योजनामा दौडधुप र हारगुहार गरे । केही उपाय नलागेपछि उनीहरू यति बेला संघर्ष समिति नै गठन गरेका आन्दोलित हुने मनस्थितिमा छन् । बुधबार प्रभावित सबै गाउँका भलमान्साले धनगढीस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा पुगेर सातदिने अल्टिमेटम दिएका छन् ।
पाँच वर्षअघि तयार भएको डीपीआर गत आर्थिक वर्ष नै मन्त्रालयमा पठाएको भए पनि स्वीकृत पनि नभएर र जवाफ पनि नआएको सिँचाइ डिभिजन कार्यालयका प्रमुख अमरबहादुर पालले जनाए ।
प्रकाशित : वैशाख १७, २०८१ ०७:२५