निगमको न्यारोबडी झन्डै पाँच महिनापछि उडानमा फर्कियो

सुरज कुँवर

काठमाडौँ — इन्जिन मर्मत गर्न नेपाल वायुसेवा निगमले पुस २७ गते इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको छ । इन्जिनमा समस्या देखिएपछि यो जहाज २०८० मंसिर १४ गतेदेखि उडानमा थिएन ।

निगमको न्यारोबडी झन्डै पाँच महिनापछि उडानमा फर्कियो

निगमका प्रवक्ता रमेश पौडेलद्वारा आइतबार जारी विज्ञप्तिअनुसार, इन्जिनको मर्मत सकिएर गत सोमबार दुबई हुँदै यात्रु राखेर आउनुपर्ने जहाजको ल्याण्डिङ गियरको अल्टरनेट ब्रेकिङ सिस्टममा समस्या देखिएपछि नेपाल आउन एक साता ढिलाई भएको हो । निगमले न्यारोबडी जहाजको मर्मत गर्न इजरायलको ‘इजरायल एरोस्पेस इन्डस्ट्रीज (आइएआई) सँग सार्वजनिक खरिद ऐनअनुसार एमआरोओ सम्झौता गरेको थियो । सम्झौताअनुसार, जहाज एक महिनाभित्रै मर्मत गरेर फर्किनुपर्ने प्रावधान ठेक्का सम्झौतामा उल्लेख भए पनि यो विमान झन्डै १ सय ९ औं दिनमा नेपाल आइपुगेको छ । तीन महिनाबढी जहाज इजरायलमा थन्किएपछि ‘निगमले गम्भीरतापूर्वक अध्ययन गर्ने’ विज्ञप्तिमा जनाएको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदीय समितिहरुले पनि चासो राख्ने भएकाले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका तीन विभागका १८ जना कर्मचारीको ०८० माघ २३ गते हस्ताक्षर गराएर राखेका छन ।

‘इन्जिन मर्मत सम्झौताअनुसार नहुने भएपछि कार्यकारी अध्यक्षले अख्तियार, संसदीय समिति र पर्यटन मन्त्रालयको स्पष्टीकरणबाट जोगिन ‘मर्मत सम्भार एकदमै जटिल तथा विशेषज्ञ कार्य हो’ भनी तीन वटा इन्जिनियरिङ विभागका १८ जना प्राविधिक र इन्जिनियरलाई आफ्नो कार्यकक्षमा बोलाई हस्ताक्षर गराएका छन्,’ निगमका एक निर्देशकले भने ।

यो विमान इन्जिनमा समस्या देखिएपछि मंसिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गरिएको थियो । इन्जिन नै झिकेर मर्मत गर्नुपर्ने भएपछि पुस २६ गते निगमले यो विमानलाई काठमाडौंबाट दुबई हुँदै इजरायल पठाएको थियो । यो विमानको मर्मत खर्चबारे निगमका अधिकारीहरुले आधिकारिक बिल इजरायलबाट प्राप्त भइनसकेको भने । जहाज फर्किएसँगै अब निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुइटा न्यारो र दुइटा वाइडबडी जहाज रहेका छन् । निगमले यो जहाजको प्राप्तिसँगै यात्रुको चाप र बजार मागलाई अब सम्बोधन गर्ने जनाएको छ ।


प्रकाशित : वैशाख १६, २०८१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?