१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

नेपाल एयरलाइन्सको न्यारोबडीमा फेरि समस्या, नेपाल ल्याउने अनिश्चित

सुरज कुँवर

काठमाडौँ — इन्जिन मर्मतकालागि १ सय २ दिनदेखि इजरायलमा थन्किएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमानमा पुनः प्राविधिक समस्या देखिएपछि नेपाल ल्याउने अनिश्चित भएको छ । आइतबारमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नेपाल वायुसेवा निगमको व्यवस्थापक निगमले पुस २७ गते इजरायल पठाएको जहाज सोमबार नेपाल आउने ब्रिफिङ गरेको थियो । मन्त्री तामाङले पत्रकार सम्मेलनमै १ सय २ दिनमा निगमको जहाज नेपाल आउन लागेको बताएका थिए । 

नेपाल एयरलाइन्सको न्यारोबडीमा फेरि समस्या, नेपाल ल्याउने अनिश्चित

‘इजरायलमा भएका हाम्रा पाइलटले जहाजमा प्राविधिक समस्या देखिएकाले सोमबार आउन नसकिने खबर पठाएका छन्,’ निगमको कार्यकारी अध्यक्षको सचिवालय स्रोतले कान्तिपुरलाई भन्यो ।

निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार सोमबार जहाज इजरायलबाट दुबई हुँदै त्यहाँबाट यात्रु लिएर काठमाडौं आउने तयारी थियो । ‘हामीलाई इजरायलमा जहाज मर्मत गरिरहेको इजरायलस्थित इजरायल एरोस्पेश इन्डष्ट्रिज लिमिटेड इजरायल (आइएआइ)ले जहाज हस्तान्तरण गरिसकेको छैन,’ प्रवक्ता पुनले भने, ‘केही समस्या देखिएकाले जहाज नेपाल फर्किने निश्चित भइसकेको छैन ।’

निगमको एक अर्को स्रोतका अनुसार इन्जिन फेरेर ल्याउने तयारी भएको जहाजको ‘अल्टरनेट ब्रेकिङ’ मा समस्या देखिएको छ । इजरायली प्राविधिकहरुले त्यो फेर्न स्पेयर पार्ट खोजिरहेको खबर त्यहाँ रहेका निगमका प्राविधिकहरुलाई दिएका छन् ।

नाइन एन–अल्फा किलो एक्सरे कलसाइन भएको त्यो जहाजको दायाँ इन्जिनको बिस्तृत मर्मत गर्नुपर्ने भएपछि इजरायलस्थित इजरायल एरोस्पेश इन्डष्ट्रिज लिमिटेड इजरायल (आइएआइ)मा पुस २७ गते पठाइएको थियो । त्यसअघि इन्जिनमा समस्या देखा परेकाले ०८० मंसिर १३ गतेको अन्तिम उडानपछि यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब डेढ महिना ग्राउन्डेड भएको थियो ।

निगम अर्थ विभागका अनुसार एउटा न्यरोबडीले दैनिक ९० लाख रुपैयाँसम्मको कारोबार गर्छ । यसबाट घटीमा १० लाख रुपैयाँ मुनाफा हुन्छ । यो विमान १ सय २ दिन नउड्दा निगमले कम्तिमा ९१ करोड रुपैयाँको व्यापार र कम्तिमा १० करोड मुनाफा गुमाएको छ । यसबाहेक यसको इजरायलमा रहँदाको पार्किङ शुल्क, मर्मत शुल्क ५० करोड रुपैयाँ भन्दा बढी पुगेको छ । यसबारे निगमका अधिकारीहरुले बिल प्राप्त भइनसकेकाले यसको हिसाब तत्काल भन्न नसकिने भनेका छन् ।

पर्यटन मन्त्री तामाङका अनुसार यसअघि पनि निगमका कार्यकारी अध्यक्षले १२ दिनमा जहाज आउँछ भनेका थिए । तर, मन्त्री आएको डेढ महिना बितिसक्दा पनि मर्मतका लागि पठाइएको जहाज नेपाल ल्याउन सकिएको छैन । निगमले इजरायल एरोस्पेश इन्डष्ट्रिज लिमिटेड इजरायल (आइएआइ)संग गरेको सम्झौता अनुसार एक महिनाभन्दा कम समयमै नेपाल ल्याइसक्नु पर्ने थियो ।

सम्बन्धित समाचार

निगमको जहाज ८६ दिनदेखि ग्राउन्डेड, इजरायलमा मर्मत हुँदै

प्रकाशित : वैशाख १०, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?