१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

शिक्षा शाखा प्रमुखसहित अन्य कर्मचारीलाई कारबाही सिफारिस

रुपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाही सिफारिस गरेको छ ।

शिक्षा शाखा प्रमुखसहित अन्य कर्मचारीलाई कारबाही सिफारिस

शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरिएको हो । मिजारलाई भने निलम्बन गर्ने गरी सिफरिस गरिएको नगरपालिकाले जनाएको छ ।

गत चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षाको नतिजा २३ गते सार्वजनिक भएको थियो । उक्त परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य वीरेन्द्रबहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो ।

उक्त प्रतिवेदनका आधारमा नतिजा प्रकाशनमा शिक्षा शाखा अधिकृत मिजारलाई मुख्य दोषी ठहर गर्दै उनलाई निलम्बनसहित विभागीय कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । 'शिक्षा शाखा प्रमुख हमालको काज फिर्ता गर्ने र विभागीय कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको छ,' उनले भने ।

मातहतका कर्मचारीको लिखित रुपमा जिम्मेवारी बाँडफाँड नगरेको, परीक्षासम्बन्धी गतिविधिलाई प्रभावकारी गराउन निरीक्षण, अनुगमन तथा निर्देशन नगरेका कारण अनियमितता मौलाएको पाइएकाले शाखा प्रमुखको हैसियतमा हमाल दोषी देखिएको मेयर आचार्यले स्पष्ट पारे ।

निजामति कर्मचारीलाई निजामति ऐन २०४९ अनुसार कारबाहीको सिफारिस गरिएको छ भने अन्यलाई शिक्षा ऐन २०२८ अनुसार कारबाहीको लागि सिफरिस गरिएको छ। कोहलपुर नगरपालिकाको करारमा शिक्षण पेसामा संलग्न भएकाको भने करार सम्झौता रद्द गरिने नगर प्रमुख आचार्यले बताए ।

नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीले फारम भरेकोमा ५३ जना अनुपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उत्तीर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उत्तीर्ण भएका थिए ।

प्रकाशित : वैशाख ११, २०८१ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?