कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

महिला हेड मिस्त्रीका पौरख

निर्माण क्षेत्रमा महिलालाई प्रायः थोरै ज्याला हुने श्रमिकका रूपमा मात्र खटाइन्छ । मिस्त्री, हेड मिस्त्री र अन्य सीपयुक्त काममा पुरुषकै वर्चस्व छ । केही महिला यस्ता पनि छन्, जो निरन्तर लगाव, अठोट र संघर्षपछि ज्यामीबाट मिस्त्री हुँदै हेड मिस्त्रीसम्म बनेका छन् । 

लुम्बिनी, सुर्खेत, पोखरा र मकवानपुर — रुपन्देहीको तिलोत्तमा–११ भूपू सैनिक पथको एउटा घरबाट झिसमिसेमै साइकलमा निस्किन्छिन् ४६ वर्षीया फूलमाया विक । उनको परिचय हो, घर बनाउने हेड मिस्त्री । बुधबार फूलमायाको साइकलको ह्यान्डिलमा झुन्डिएको हटकेसमा थियो– सुक्खा रोटी र आलुको भुजिया । बिहान उठेर घरको सारा काम सकिवरी परिवारका सदस्यलाई चिया दिएपछि उनी घरबाट निस्किएकी हुन् । कहिलेकाहीं त यति हतार भइदिन्छ, सुक्खा रोटी र टमाटरको चटनीसँग भोक मार्नुपर्छ ।

महिला हेड मिस्त्रीका पौरख

निर्माण क्षेत्रमा महिलाहरू धेरैजसो सामान्य श्रमिक र ज्यामीको भूमिकामा मात्र हुन्छन् । तर फूलमाया घर निर्माणको ठेक्का लिन्छिन्, आफैंले कामदार खोज्छिन्, उस्तै परे घर बनाउने सरसामानको जोहो पनि गर्छिन् र आफैं कस्सिएर घरै बनाई दिन्छिन् । उनी ठेकेदार र हेड मिस्त्री दुवै हुन् । पछिल्ला केही महिनायता उनी घरबाट झन्डै ५ किमि दूरीमा रहेको निर्माणस्थलसम्म धाइरहेकी छन् ।

झिसमिसेमै नउठी उनलाई धर छैन । उनी आफू र सँगैका कामदारका निम्ति बिहानको खाजा पनि घरैबाट लैजान्छिन् । दिउँसोको खाना भने घर बनाउने ठाउँमै सामूहिक रूपमा तयार पारिन्छ । बुधबार कान्तिपुरले भेट्दा उनी प्लास्टर गर्दै थिइन् । ‘सुक्ने डरले तयार पारिएको मसलाको काम सक्छौं, अनि मात्र खाजा खाइन्छ,’ दाहिने हातले भित्तामा रगडिरहेको कर्नी उचाल्दै फूलमायाले भनिन्, ‘सबै कामदारका लागि खाजा तयार गरेर मैले नै ल्याउँछु, खाना भने यही काम गर्ने ठाउँमै पकाएर खान्छौं ।’

फूलमायाले टाढाबाट आएका कामदारलाई भने निर्माणस्थलमै बस्ने व्यवस्था मिलाएकी छन् । ‘जिल्लाभित्रका कामदारले मलाई पत्याएनन्, बीचमा साथ छाडेर गए,’ उनले भनिन्, ‘उल्टै बचन लाएर काम छाड्छन्, त्यसैले जिल्लाबाहिरका कामदार बोलाएकी छु ।’ उनले आफूले महिला कामदारलाई प्राथमिकता दिने गरेको र उनीहरूलाई कामदारबाट मिस्त्री बनाउने प्रयास पनि गरिरहेको बताइन् ।

मिस्त्रीको काम गर्नुअघि फूलमायाले वर्षौंसम्म निर्माण क्षेत्रमा दिनगन्तीमा काम गरेकी थिइन् । घरकै ठेक्का लिएर मिस्त्रीे काम थालेको भने ८ वर्ष भयो । हाजिरामा कामदारदेखि मिस्त्रीसम्मको यात्रामा आइपुग्न फूलमायाले लामो संघर्षको बाटो हिँडेकी छन् ।

८ कक्षामा पढ्दापढ्दै प्रेमविवाह गरेर २०५७ मा मोरङबाट रूपन्देही आएपछि उनको संघर्ष सुरु भएको हो । श्रीमान् घर निर्माणको ठेक्का लिने काम गर्थे । सुरुका केही वर्ष उनी श्रीमान्सँगै काममा हिँडिन् । बीचमा केही वर्ष जागिर पनि खाइन् । पछिल्ला केही वर्ष उनी फेरि श्रीमान्सँगै काममा हिँडिन् । ‘मिस्त्रीले प्लास्टरको काम गरेको हेरेरै कर्नी चलाउन सिकें,’ उनले भनिन्, ‘बुढा ठेकेदार, मैले मिस्त्री काम सिकें ।’

यही काम सिकेपछि बढेको आत्मविश्वासले फूलमायाले कामदार खोज्ने, तिनलाई कसरी कामको जिम्मा लगाउने, कसरी हिसाबकिताब दुरुस्त राखेर समयमै काम सक्ने भन्ने तौरतरिका पनि सिकिन् ।

रूपन्देहीमा २ सयभन्दा बढी घरको ठेक्का लिएर निर्माण पूरा गरिसकेको उनले बताइन् । ‘सुरुमा बालुवा चाल्ने, इँटा बोक्ने काम गर्दा हात दुख्ने र ठेला पर्ने हुन्थ्यो,’ उनले भनिन्, ‘तर,आइपरेपछि सबै काम गरिँदो रहेछ ।’ उनीसँग अहिले महिला कामदार मात्र छैनन् । ६ जना पुरुष सहकर्मीसँग काममा खटिन्छिन् । ‘ढलान गर्ने दिन महिला र पुरुष गरेर झन्डै २० जना हुन्छन्,’ उनले भनिन् ।

मिस्त्री काम सिकेर ठेक्कापट्टामा हात हाल्न थालेपछि उनको श्रीमान्सँग पनि सम्बन्ध चिसिँदै गयो । छोरा जन्मेपछिका वर्षमा श्रीमान्बाट भएको बेवास्ताले उनलाई झनै दिक्कै बनायो । पछि त अवस्था यस्तो आयो कि, उनलाई सुत्केरी समय भनेर घरमा बस्ने छुट पनि भएन । अनि फूलमाया झनै ईख लिएर घर निर्माणको काममा लागिपरिन् । श्रीमान् कहिलेकाहीं घर आउने, केही समय हराउने गर्न थालेको धेरै वर्ष भइसक्यो । ‘बाबु जन्मेदेखि बेवास्ता बढ्दै गयो,’ उनले भनिन्, ‘भदौदेखि निस्केर हिँडेका हुन्, आउँदिन भन्छन् ।’

फूलमायाको जस्तै संघर्षको कथा छ, ५५ वर्षीया मिस्त्री कमला कार्कीको पनि । कलिलै उमेरमा बिहे गरेर भारत पुगेकी उनी २०५६ मा ३ छोराछोरीसँगै फर्किएर तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरमा बस्न थालेकी हुन् । १५ वर्षअघि भारतमै श्रीमान्को मृत्यु भएपछि उनका दुःखका दिन झनै बढे । त्यस दिनबाट कमलाले खुसी हुनुपर्छ, संसार रमाइलो छ भन्ने कुरा भुलेको बताइन् । ‘मिलेर काम गरेका थियौं, घर बनाएर बस्ने भन्दै म नेपाल आएँ,’ उनले सुनाइन्, ‘सँगै भएको भए श्रीमान्लाई बचाउन सकिन्थ्यो कि भन्ने पछुतो छ ।’


कमला कार्की

श्रीमान् बितेपछि उनलाई काम नगरी धर भएन । कमाइ गर्ने बाटो खोज्दै उनी घर निर्माणको काम गर्न थालिन् । काम सिक्ने बेलाको संघर्ष कमलाको सम्झनामा अहिले पनि ताजा छ । उनी हरेक बिहान तीन छोराछोरीका लागि खाना तयार पारेर ६ किलोमिटरको दूरी साइकलमा छिचोलेर कार्यस्थल पुग्थिन् । ‘छिमेकका दाइ र दिदीसँगै जान थालें,’ उनले भनिन्, ‘काम बिगार्दा मिस्त्री र ठेकेदारले गरेको गाली अझै पनि कानमा गुञ्जिन्छन् ।’

श्रम गरेर जीवन धान्नुपर्ने भएपछि आफूले थप सीप सिकेर मिस्त्री बन्ने अठोट लिएको उनले सुनाइन् । ‘मनमा मिस्त्री बन्ने चाहना पलायो,’ दशकअघिका तीन दिन सम्झिँदै उनले भनिन्, ‘सुरुमा कर्नी चलाउन दिन्थेनन्, मिस्त्रीले आराम गरेका बेला, साहुले नदेख्दा मसला बनाएर काम गरिहाल्थें, हेरेरै पनि धेरै सिकें, अहिले त्यहीं काम गर्छु ।’ कमलासँग छिमेककै ३ महिला र ५ पुरुष साथीले काम गर्छन् ।

संघर्षको लामो बाटो हिँडेर उनी मिस्त्री बनेरै छोडिन् । ‘४० रुपैयाँ ज्यालाबाट काम सुरु गरेको हो, अहिले दैनिक ८ सय रुपैयाँसम्म पाउँछु,’ उनले भनिन्, ‘सुरुमा लेबर थिएँ, मिस्त्री बनें नि !’ छोराछोरी हुर्किसकेकाले हिजोआज कमलालाई उतिसारो दुःख छैन । ‘अहिले कामको लोड लिदिनँ,’ उनले भनिन्, ‘सकुन्जेल हात बिसाउन मन छैन, कसैसँग हात फैलाउन नपरोस् भन्ने सोचले निरन्तरता दिइरहेकी छु ।’

फूलमाया र कमलाको भन्दा पार्वती घर्ती मगरको बेग्लै अनुभव छ । तिलोत्तमा–११, कालिकास्थान बस्ने ४७ वर्षकी उनी बिहेपछि श्रीमान्सँगै रूपन्देही झरेकी हुन् । उनका श्रीमान् मुक्तिराम घर्ती २०५८ सालदेखि लेबर काम गर्थे । रूपन्देहीका उनी नुवाकोट घुम्न गएका बेला पार्वतीसँग भेट भई उनीहरूले भागी विवाह गरेका थिए । २ सन्तानमध्ये छोरा अहिले विदेशमा छन् । छोरीले कक्षा १२ सम्म पढेपछि घरकै काममा सघाउने गर्छिन् । श्रीमान्सँग काम गर्न २०६२ सालदेखि हिँडेकी पार्वतीले ६ वर्ष भयो मिस्त्री काम सिकेको । त्यसयता बुढाबुढीले प्रायः हाजिरामा काम खोज्ने गरेको उनले बताइन् । ‘हाजिरामा ४ टाइम खान र १ हजार २ सय रुपैयाँ ज्याला छ,’ उनले भनिन्, ‘हामी पाल्पासम्म पुग्छौं चिनेका साहुले बोलाउँदा, त्यहाँ पुग्दा १३ सय पाइन्छ ।’ ठेकेदारले बोलाएर काम गर्दा ८ सयसम्म पाइने गरेको उनले बताइन् । ६ वर्षयता उनले पुरुष सहकर्मीसँग मात्र काम गरिरहेकी छन् । श्रीमान् साथै हुने भएकाले कुनै समस्या नपर्ने उनले बताइन् ।


पार्वती घर्ती मगर

उनी र श्रीमान् सँगसँगै ज्यालादारीको काममा जान्थे । काम गर्दागर्दै श्रीमान्ले बालुवा चाल्नेबाहेक पार्वतीलाई मसला बनाएर गारो लगाउन सिकाइदिए । ‘मैले त बालुवा चाल्न नजान्ने, आफैंलाई हाँसो लाग्थ्यो,’ उनले भनिन्, ‘अरूको देखेर धेरै सिकियो, अहिले त सिकाउन सक्ने भएकी छु ।’

घर निर्माण क्षेत्रमा मजदुरी गर्दागर्दै सीप सिकिरहेका बेला पार्वतीलाई बेलाबेला आफ्नै घर बनाउने रहर हुन्थ्यो । ‘रहरै त हो, अरूको घर बनाउँदा कति पटक आफ्नो घरको अनुभव गर्न मन लाग्थ्यो,’ उनले भनिन्, ‘सबै कुरा पैसाले मापन गर्दो रहेछ, नभएपछि भएकाको देख्न र ठूला गफ सुन्नै छोडें ।’ बुढाबुढी मिलेर काम गर्दै जम्मा गरेको पैसाले २०७० सालमा २ कोठे घर बनाएको उनले सुनाइन् । ‘टिनकै छाप्रो भए पनि आफ्नै घर जाती हुने रहेछ,’ उनले भनिन्, ‘अझै व्यवस्थित बनाउन सकिएको छैन, हामीले ८ लाख जतिमा घर बनायौं ।’ छोराले पैसा कमाएर पठाउँदा जोगाउन सकेमा भान्सा कोठासहित अन्य कोठा बनाएर बस्ने उनको रहर छ । पार्वती छोराछोरीलाई अप्ठ्यारोमा नपार्ने गरी आफूहरूले आफ्नो खर्च पुर्‍याउन काम गरिरहने बताउँछिन् ।

गौरी : एक दशकदेखिकी हेड मिस्त्री


गौरी सिन्तान

हेटौंडा–१९, बस्तीपुरकी गौरी सिन्तानले घर बनाउने काम गर्न थालेको करिब १४ वर्ष भइसक्यो । पछिल्लो एक दशकयता उनी हेड मिस्त्री छिन् । हेड मिस्त्रीको यो लामो यात्रामा सुरुवातदेखि नै उनले एउटै कुरा सुनिरहेकी छन्, ‘अहो ! महिला भएर पनि हेड मिस्त्री ।’ भौतिक संरचना निर्माणको काममा पुरुष मात्र प्राविधिक र हेड मिस्त्री हुन्छन् अनि महिला जति सामान्य काम गर्ने ज्यालादारी हुन्छन् भन्ने बुझाइलाई चिर्दै गौरीले आफूलाई अब्बल दर्जाको निर्माणकर्मीका रूपमा उभ्याएकी छन् ।

सुरुका झन्डै चार वर्ष गौरी पनि अरू महिला जस्तै निर्माण क्षेत्रमा दैनिक ज्यालामा मजदुरी गर्थिन् । काम गर्दै जाँदा उनले प्राविधिक सीप पनि सिक्दै गइन् । ‘लेबरको काम गर्दै गर्दा अरू मिस्त्रीले कसरी काम गर्छन् भनेर हेर्दै गर्दा मैले पनि सक्छु भन्ने लाग्यो,’ उनले सुनाइन्, ‘यसरी बिस्तारै पुरुष मिस्त्रीहरूसँग काम सिकें ।’ कक्षा ५ सम्म मात्रै पढेकी गौरीलाई अहिले गारो लाउन होस् वा प्लास्टर गर्न सबै काम सहज लाग्छ ।

गौरीले काम सिक्दै गर्दा पति नवराज रोजगारीका क्रममा मलेसियामा थिए । नवराज मलेसियाबाट फर्किंदा पत्नी गौरी हेड मिस्त्रीका रूपमा काम गरेको देखेर दंग परे । नवराजले सुनाए, ‘म विदेशबाट फर्केर आउँदा गौरी मिस्त्री भैसकेकी रहिछे । सुरुमा त पत्यार लागेको थिएन । पछि आफैंले देखेपछि रमाइलो लाग्यो ।’ हिजोआज गौरी दम्पती काममा सँगै हुन्छन् । नवराजले सुनाए, ‘महिनामा २७ देखि २८ दिन सँगै काममा हुन्छौं ।’

गौरी र नवराजले निर्माण क्षेत्रमा काम गरेर मासिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । ठेक्काको काम नभएका बेला भने उनीहरू दैनिक हाजिरामा पनि काम गर्छन् । यस्तो काम गर्दा भने खाजा खाएर दैनिक जनही १ हजारदेखि १२ सय रुपैयाँसम्म ज्याला हात पर्ने उनीहरू बताउँछन् ।

उनीहरूले केही समयअघि हेटौंडा–१९, बस्तीपुरमा आफ्नै पक्की घर बनाएका छन् । मनहरी गाउँपालिका–१, गोगनपानीबाट कामका सिलसिलामा बस्तीपुर सरेर १० वर्ष डेरामा बसेका गौरी दम्पती आफ्नै कमाइको भरमा घरजग्गा जोड्न सफल भएका हुन् । निर्माणको काम गरेरै उनीहरूले एक छोरा र दुई छोरीलाई पढाइरहेका छन् । केही साताअघि मात्रै उनले हेटौंडा–१९, सान्नटारमा घर ठेक्कामा लिएर निर्माण सम्पन्न गरिन् ।

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलका अनुसार जिल्लाभर भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा महिला हेड मिस्त्रीको संख्या असाध्यै कम छ ।

मजदुरीदेखि हेड मिस्त्रीसम्म


खगिसरा विक

सुर्खेत वीरेन्द्रनगरकी ४८ वर्षीया खगिसरा विकलाई खासै फुर्सद हुँदैन । हातमा सीप र जाँगर भएकै कारण उनी एकपछि अर्को काममा व्यस्त भइराख्छिन् । तर यो दिनसम्म आइपुग्न खगिसराले दुःख र संघर्षको धेरै घुम्ती छिचोलेकी छन् । करिब सात वर्षअघि बाध्यताले घर निर्माणमा मजदुरीको काम सुरु गरेकी खगिसरा अहिले सुर्खेत जिल्लाभर घर निर्माण गर्ने एक्ली महिला हेड मिस्त्री हुन् । चार वर्षअघि उनी तालिमप्राप्त हेड मिस्त्री भएकी हुन् ।

मिस्त्रीको काम त पुरुषले मात्रै गर्न सक्छन् भन्ने सोच भएको समाजमा सुरुमा त खगिसरालाई काम गर्छु भन्ने विश्वास दिलाउन पनि समय लाग्यो । ‘सुरुसुरुमा त तालिम लिएको प्रमाणपत्र नै देखाउनुपर्थ्यो कतिपय ठाउँमा, अहिले त्यस्तो समस्या छैन,’ खगिसराले भनिन्, ‘महिलाले पनि पुरुषसरह सबै काम गर्न सक्ने उदाहरण हुन पाएकामा खुसी पनि लाग्छ ।’

पछिल्ला तीन महिनादेखि वीरेन्द्रनगरस्थित एक होटलको बगैंचामा बत्ती जोड्ने स्थानमा सिमेन्टको बुट्टा भर्नमा खगिसरा व्यस्त छिन् । मजदुरदेखि हेड मिस्त्रीसम्मको यात्रामा खगिसराले दुःख र संघर्षको धेरै घुम्ती छिचोलेकी छन् ।

अभावले घर गरेको दलित परिवारको संघर्ष सामान्य थिएन । घर निर्माण क्षेत्रमा मजदुरीको काम गर्ने श्रीमान् भीमबहादुरले कमाएको ज्यालाबाट पाँच छोराछोरीसहितको सात जनाको परिवारको गर्जो टार्न सजिलो थिएन । त्यही बेला श्रीमान् बिरामी भएर थला परेपछि खगिसरालाई आपत्कै पहिरो आइपर्‍यो । एकातिर परिवारको गर्जो टार्ने चिन्ता, अर्कोतिर बिरामी श्रीमान्को उपचार खर्चको अभाव । ‘अनि मैले मजदुरीको काम गर्न थालें,’ खगिसराले भनिन्, ‘सुरु सुरुमा त साह्रै गाह्रो भयो । निकै दुःख भयो । तीन वर्षसम्म मजदुरीको काम गरें । बालबच्चा पाल्न र बिरामी श्रीमान्को उपचार गर्ने पैसा जुटाउन थालें ।’

मजदुरीको काम गर्दागर्दै खगिसराले मिस्त्रीको काममा पनि हात हाल्न थालेकी हुन् । पछिपछि उनलाई हेड मिस्त्री आफैं हुन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । हेड मिस्त्री भएमा अलि बढी पैसा कमाइ हुने देखेकी उनीको मनमा जसरी पनि हेड मिस्त्री हुने दृढता जाग्यो । उनी काम त हेड मिस्त्रीकै गर्थिन् तर तालिम नलिएकाले उनलाई धेरैले हेड मिस्त्रीभन्दा पत्याउँदैनथे । दुई वर्षअघि नगरपालिकाले सञ्चालन गरेको मिस्त्री तालिममा सहभागी भइन् । ‘तालिम लिने २० मध्ये महिला म एक्ली थिएँ,’ उनले सुनाइन् ।

सीप त उनीसँग पहिला नै थियो । तालिम लिएपछि झन् सजिलो भयो । पछिल्लो समय भूकम्पप्रतिरोधी घर बनाउने नियम भएकाले सबैले भूकम्प प्रतिरोधी घर तथा अन्य भौतिक संरचना नै बनाउँछन् । उनले लिएको तालिम पनि त्यहीअनुरूप भएकाले सहज भयो । उनी सानो घर बनाउनुपरे चार जनाजति हेल्पर राख्छिन्, ठूलो घर भएमा १० जनासम्म । भन्छिन्, ‘हेड मिस्त्री भएर ९० वटा जति घर सम्पन्न गरिसकें ।’ हेड मिस्त्री भएपछि खगिसराको आत्मबल मात्र बढेन, कमाइ पनि बढ्यो । हेड मिस्त्री भएर पनि तालिम नलिँदासम्म उनको दैनिक ज्याला ७ सय थियो । तालिम लिएपछि उनको कमाइ दैनिक १२ सय पुगेको छ । यो कमाइले परिवारको गर्जो टार्न मात्रै पुगेको छैन, बिरामी श्रीमान्को उपचार खर्च जुटाउन पनि अरूसँग सहयोग लिनुपरेको छैन ।

ठेकेदार श्रीमान्, हेड मिस्त्री श्रीमती


शान्ति बयम्बु

पेटमा बच्चा, पिठ्युँमा बालुवा बोक्दै ‘हेल्पर’ बाट ज्यामी काम सुरु गरेकी शान्ति बयम्बु एक देशकदेखि ‘हेड मिस्त्री’ छिन् । पाल्पाको रामपुरबाट १७ वर्षअघि पोखरा आएकी उनले ज्यामी काम सुरु गर्दा तीन महिनाको बच्चा पेटमा थियो । सुत्केरी हुनु अघिल्लो दिनसम्मै काम गर्दै थिइन् ।

रामपुरबाट २० वर्षअघि पोखरा आएका उनका श्रीमान् दीपक बयम्बु ज्यामी काम गर्थे । हेल्परबाट मिस्त्री हुँदै ठेकेदार बने । २०६३ मा १७ वर्षको उमेरमा बिहे गरेर पोखरा आएकी शान्तिले २०६४ मा पहिलो छोरा सुजनलाई जन्म दिइन् । अर्को वर्ष फेरि गर्भ बस्यो । कोठा भाडा, बच्चाको पालनपोषणमा श्रीमान्को मात्र कमाइले खर्च पुर्‍याउनै धौधौ भयो । बच्चा पेटमा तीन महिनाको हुँदा उनले पनि श्रीमान्सँगै ज्यामी काम गर्ने निधो गरिन् ।

श्रीमान्कै हेल्परका रूपमा उनी घर बनाउने ठाउँमा ढुंगा, बालुवा, इँटा बोक्ने गर्थिन् । त्यतिबेला उनले पाउने ज्याला दिनको १ सय ३५ रुपैयाँ थियो, श्रीमान्को ३ सय । पुरुष हेल्परले भने १ सय ५० रुपैयाँ पाउँथे । जेठो छोरालाई काममै लिएर जान्थिन् । ‘अर्को बच्चा आज कि भोलि भन्ने बेलासम्म काम गरें,’ पोखरा–१७ रातोपैह्रोमा श्रीमान्/श्रीमतीको कमाइले जोडेको टिनले छाएको तीनकोठे घरभित्र बसेर उनले भनिन्, ‘त्यतिबेलाको दु:ख सम्झिने हो भने भनिसाध्य छैन ।’

कान्छो छोरा सुदीप जन्मिएको एक वर्षसम्म भने उनले आराम गरिन् । त्यसपछि फेरि सुरु भयो पुरानै दैनिकी । दुवै छोरालाई लिएर काममा जान्थिन् । उनीहरू गिट्टी, बालुवासँग खेल्दै रमाउँथे । शान्तिको खुट्टा भने सिमेन्टले खाएर पटपट फुट्थे । ‘त्यतिबेला जुत्ता किनेर लाउन सक्ने अवस्थै थिएन, चप्पल लाएर काम गर्नुपर्थ्यो,’ उनले सुनाइन्, ‘बुढापाकाहरूले पहिला दु:ख गरे पो पछि सुख पाइन्छ भन्थे, त्यही सम्झेर दु:ख गरें ।’

उनले मसला फिट्न सिकिन् । डोकोमा बेल्चाले आफैं बालुवा हाल्न जानिन् । त्यसपछि उनको ज्याला दिनको १ सय ५० रुपैयाँ पुग्यो । छोराहरू ३ र २ वर्षको भएपछि भने स्कुल भर्ना गरिदिइन् । ढुंगा, इँटाको गारो लगाउन, भित्ता प्लास्टर गर्न उनले श्रीमान्सँगै सिकिन् । मिस्त्री भएपछि आम्दानी पनि बढ्दै गयो । तीन तलासम्मको घर प्लास्टर गर्न श्रीमान्/श्रीमतीले मात्रै जिम्मा लिन थाले । पैसा बच्न थाल्यो । श्रीमान्/श्रीमतीले दिन रात गरेर कमाएको पैसाले एक दशकअघि घारीपाटनको रातोपैह्रोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय नजिकै घर किने । ‘दुईवटा बच्चा लिएर कहिले कता, कहिले कता कोठा सर्दा गाह्रो भयो,’ उनले भनिन्, ‘श्रीमान् पनि ठेकेदार भएपछि बच्चाबच्चीलाई पढाउन सकियो, सानै भए पनि घर जोड्न सकियो ।’ सुजन ११ कक्षामा पढ्दै छन् भने सुदीपले भर्खरै एसईई सके ।

श्रीमान्ले घर बनाउने ठेक्कापट्टा लिन थालेपछि शान्तिलाई पनि कामको चिन्ता भएन । अहिले पनि ठेक्का पाएको घरमा उनलाई काम पुग्छ । ठेक्का पाएको नयाँ घरको जग खन्दै गरेकाले शुक्रबार उनी घरमै थिइन् । गारो लगाउन सुरु भएपछि काममा जाने उनले बताइन् । कक्षा ६ सम्म मात्रै पढेकी उनलाई हिसाबकिताब गर्न आउँछ । अहिले उनको ज्याला दैनिक १ हजार रुपैयाँ पुगेको छ । मिस्त्री कामबाट उनी सन्तुष्ट छिन् । आफूले काम गर्दै गरेको भिडियो टिकटकमा पनि राख्छिन् । ‘अहिलेसम्म आफूले गरेको काममा गाली खानुपरेको छैन,’ उनले सुनाइन्, ‘कहिलेकाहीं बिग्रिन्छ कि, साहुले गाली गर्छन् कि भन्ने डर हुन्छ । तर, पुरुष मिस्त्री र मैले गरेको काममा फरक हुँदैन ।’ उनले काम गरेको देख्नेले प्रशंसा गर्छन् ।

आफूले सक्दासम्म मिस्त्री काम गर्ने उनी बताउँछिन् । भन्छिन्, ‘नगरेर सुख पनि पाइएन नि ! बसिराख्नुभन्दा काम गर्न नै ठीक ।’ हेल्परबाट हेड मिस्त्री बनेकी उनी ठेकेदार पनि बन्लिन् ? जवाफमा उनले भनिन्, ‘हेर्दै जाऊँ, कुनै दिन बन्न पनि सक्छु ।’


प्रकाशित : वैशाख २२, २०८१ ०६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?