१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

मौरीपालक किसानलाई बजारको चिन्ता

सुनिता बराल

महोत्तरी — २ सय ५२ मौरीको घार राखेर मौरीपालन व्यवसाय गरिरहेका खैरहनी-४ चितवनका सुरेश बस्नेत अहिले महले बजार नपाएपछि चिन्तामा छन् । वैदेशिक रोजगारीका क्रममा हन्डर पाएर २०६२ सालमा साउदीबाट नेपाल फर्किएर मौरी पाल्न थालेका उनले महले बजार पाउँदा विदेशमा भन्दा राम्रो आम्दानी गरेको सुनाए ।

मौरीपालक किसानलाई बजारको चिन्ता

तर पछिल्लो समय उत्पादित महले बजार नपाएपछि घरमा अहिले ७० क्विन्टल मह जम्मा भएर बसेको उनले बताए । घारमा मौरी बोकेर सिजन अनुसारका फूल फुल्ने ठाउँ मौरी चराउन देशैभरी पुग्ने बस्नेत गत फागुन महिनादेखि महोत्तरीको बर्दिवासमा मौरी चराईरहेका छन् ।

फागुनदेखि यस जिल्लामा शीतल चिनी (भिक्स),लिची,गुमपाते लगायतका फूल फूल्ने सिजन भएकाले बस्नेत मात्रै हैन दर्जनौं मौरी पालक किसान मौरि चरिचरणका लागि महोत्तरीको बर्दिवाससहित विभिन्न गाउँ तथा जङ्गल क्षेत्रमा छन् । बस्नेतले यो सिजनको ३ महिनामा मात्रै बर्दिवासका विभिन्न ठाउँमा मौरी चराएर २२ क्विन्टल मह उत्पादन गरेको सुनाए । ‘उत्पादन त छ, तर बिक्री छैन’ उनले भने, ‘यस्तै हो भने देशमा बस्न मन लागेर मात्रै नहुने रहेछ, विदेश जानपर्ने स्थिति भइसक्यो’ ।

बर्दिवासमै मौरी चरचरणका लागि आएका अर्जुन कार्कीले मह उत्पादन गरियो भनेर अब किसान खुसी हुने दिन नरहेको बताए । भारतबाट आयातित महलाई नेपाली उत्पादन हो भनि झुक्याएर सस्तोमा बिक्री गरिदिँदा मौरी पालक किसान मरिरहेकोप्रति नेपाल सरकारले चासो नदिएको उनले बताए । भारतबाट आएको महमा कर नबढाए नेपाली किसानले उत्पादन गरेको महले बजार नपाउने उनले बताए ।

विभिन्न कम्पनीले नेपाली बजारमा भारतबाट आयातित महलाई नेपाली मह भन्दै झुक्याएको र महको शुद्धतामा समेत विभिन्न रङ र केमिकल मिसाएर बिक्री गरिरहेका उनले आरोप लगाए ।

मौरी पालेर घरपरिवार पाल्दै आएका किसानले मह बिक्री हुन छाडेपछि परिवार पाल्न अब बैदेशिक रोजगारीमा जानपर्ने अवस्था आईसकेको उनले बताए । चितवनबाट मात्रै नभएर महोत्तरीमा अहिले पूर्वझापादेखि पश्चिमसम्ममा दर्जनौं किसान मौरी चराएर निकै मेहनत साथ मह उत्पादन गरिरहेका छन् । तर मह उत्पादन क्षेत्रबाट बिक्री नभई किसानको घरमै लगेर जम्मा गर्दै थन्क्याउने अवस्था रहेको उनले सुनाए ।

दाङ,रुपन्देही,झापा लगायतका जिल्लामा मौरी चराएर फागुनअघि उत्पादन गरेको मह बिक्रीनै नभएको उनले दुखेसो सुनाए । महोत्तरीमा अहिले २२ सय बढी मौरीका घार लिएर व्यवसायिक मौरी पालक किसान मौरी चरिचरण गराईरहेका कार्कीले बताए । महोत्तरीबाट उत्पादित मह बेचेर घर फर्किन ढिला भईसकेको भएपनि मह बिक्री नहुने स्थिति भएपछि पुन: मह घरमै लगेर थन्क्याउनपर्ने र परिवार पाल्न ऋण खोज्नपर्ने दु:खद परिस्थिति सिर्जना भईरहेको कार्कीले बताए ।

एकादुई किसानको मात्रै नभएर मह बिक्री नहुँदा समग्र मह उत्पादन गर्ने २८ देखि ३० हजार किसानको समस्या एउटै रहेको नेपाल मौरीपालक किसान महासंघका पूर्वअध्यक्ष तथा चितवन मौरी जोनका प्रमुख रामप्रसाद पौडेलले बताए । अघिल्ला वर्षहरुमा डाबर नेपाल,पतञ्जली लगायतका अन्तराष्ट्रिय कम्पनीले नेपाली किसानसँग मह खरिद गर्दा वर्षमा २५ लाखसम्मको किसानले व्यवसाय गरेका उनले बताए ।

ठूलो मात्रामा भारतबाट उत्पादन हुने मह न्यून शुल्कमा नेपाल आउने र सस्तोमा कम्पनीहरुले किन्न थालेपछि कम्पनीहरुले त्यहि मूल्यमा आफुसँग माग्न थालेको र लागत समेत नउठ्ने भएपछि किसानले मह सस्तोमा दिन नसक्दा बिक्री हुन नसकेको पौडेलले बताए । स्थानीय तह,प्रदेश र संघीय सरकारसँग समेत महको बजारका लागि पहल गरिसकेको भएपनि अहिलेसम्म सहज नभएको पौडेलले बताए ।

कोभिडपछि महको व्यवासय निकै धरासायी बन्दै गएको उनले बताए ।

वैशाखदेखि भदौसम्म फूलमा रस नपाउने,हावाहुरी,वर्षाले असर गर्ने भएकाले यो समयमा मौरी बचाउन, चरिचरणमा लाग्ने ढुवानी खर्च र किसानको मेहनतको पारिश्रमिक जोड्दा प्रतिकिलो ४ सय ६२ रुपैयाँ लागत पर्ने किसानहरुले बताए । अहिले कम्पनीहरुले लागत समेत नउठ्ने तरिकाले महको मूल्य लगाएकाले मह बेच्न नसकिएको किसान अर्जुन कार्कीले बताए । चिउरी र तोरीबाट उत्पादित मह केहि महिनापछि सामान्य जम्न थाल्ने भएकाले पनि मानिसहरुमा जम्ने महमा मिसावट हुन्छ भन्ने भ्रम छरेर विभिन्न कम्पनीले केमिकल राखेर बेच्ने मह शुद्ध हो भनेर झुक्याउने गरेका किसान बताउँछन् ।

प्रकाशित : वैशाख ११, २०८१ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?