१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

कम मूल्य तोकिएपछि खाद्यलाई दिएन किसानले गहुँ 

कमल पन्थी

बर्दिया — सरकारले गहुँको मूल्य बजार भाउभन्दा प्रतिक्वीन्टल ६ सय रुपैयाँ कम तोकेपछि खाद्य व्यवस्था व्यापार केन्द्र, राजापुरले गहुँ खरिद गर्न सकेको छैन ।

कम मूल्य तोकिएपछि खाद्यलाई दिएन किसानले गहुँ 

केन्द्रले वैशाख ३ गते खरिद प्रक्रिया सुरु गरेको सूचना जारी गरे पनि किसानले गहुँ बेच्न ल्याएका छैनन् । सरकारले गहुँको मूल्य प्रतिक्वीन्टल ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा तोकेपछि केन्द्रले गहुँ किन्न शान्ति बजार, प्रसेनीपुर र खाद्य व्यापार केन्द्रमा डिपो राखेको छ । तर, हालसम्म गहुँ खरिद हुन सकेको छैन ।

‘सरकारले तोकेको मूल्य बजार मूल्यभन्दा निकै कम हुँदा किसानले व्यापारीलाई बेच्दै आएका छन् । गहुँको मूल्य संशोधन नभएसम्म खरिद नहुने निश्चित छ,’ केन्द्रका प्रमुख केशवराज बुढाले भने । उनका अनुसार व्यापारीले प्रतिक्वीन्टल ४ हजारदेखि ४ हजार २ सय रुपैयाँमा खरिद गरेका छन् ।

केन्द्रले खरिद गरेको गहुँ दुर्गम पहाडी जिल्लामा पठाउने गरेको छ । गत वर्ष बर्दियामा करिब २२ हजार ९ सय हेक्टरमा गहुँ खेती भएको थियो । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालका अनुसार गत वर्ष ८३ हजार ५ सय ५० टन गहुँ उत्पादन भएको थियो । यस वर्ष गहुँको लागि क्षेत्रफल बढेर २३ हजार ३ सय ३५ हेक्टर पुगेको उनले बताए ।

प्रकाशित : वैशाख ११, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?