३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

एमाले महासचिव पोखरेल भन्छन् :  जसपा नेपालका बाँकी सांसदले पनि विद्रोह गर्छन् 

आनन्द गौतम

ताप्लेजुङ — एमाले महासचिव शंकर पोखरेलले जनता समाजवादी पार्टी, नेपालका अरु सांसदले पनि विद्रोह गर्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ताप्लेजुङको १२औं अधिवेशनका लागि आएका महासचिव पोखरेलले मंगलबार बिहान पत्रकार सम्मेलनमा सांसदहरू आफैंले विद्रोह गरेको बताएका हुन् ।  

एमाले महासचिव पोखरेल भन्छन् :  जसपा नेपालका बाँकी सांसदले पनि विद्रोह गर्छन् 

‘सरकार कसरी बदल्न सकिन्छ भनेर केही दलमा एक प्रकारको आतुरी देखिन्छ । सरकार परिवर्तनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका छन् । त्यही षड्यन्त्रविरुद्ध सांसदहरू आफैंले विद्रोह गरेका हुन्,’ महासचिव पोखरेलले भने ।

जसपा नेपालमा अझ थप सांसदहरूले विद्रोह गर्ने पनि महासचिव पोखरेलको दाबी छ । ‘जनता समाजवादीका सात जनाले त नयाँ पार्टी खोल्नु भएको छ । म ठान्दछु त्यो प्रक्रिया अझ बढ्ने छ,’ उनले भने ।

सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसमा देखापरेको विचलन दुःखद रहेको उनले बताए । ‘कम्तीमा तीन महिनाको समय काम गर्नका लागि दिनुपर्थ्यो । सुरुदेखि नै कांग्रेसले संसद्मा विरोध गर्दैछ । त्यही व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो, त्यही मान्छे गृहमन्त्री हुॅदा विरोध गर्नु राम्रो होइन । कहिले प्रधानमन्त्रीका रुपमा योग्य देख्नु कहिले गृहमन्त्रीको बिरोध गर्नु राम्रो होइन,’ महासचिव पोखरेलले भने ।

एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामीले के भनेका छौं भने अहिलेको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता र राष्ट्रका हितका पक्षमा खास गरी पाँच दलीय नयाँ समीकरणले बनाएका नीति कार्यक्रमको पक्षमा दृढतापूर्वक काम गरुञ्जेलसम्म यो सरकारलाई निरन्तर रूपमा कायम राख्नु पर्दछ,’ उनले भने ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै १० सिट भएको दलले प्रधानमन्त्री माग्नु न्यायोचित हुने–नहुने सोच्नुपर्ने महासचिव पोखरेलले बताए । ‘समाजवादीका नेता म प्रधानमन्त्री हुन्छु भनेर कोही आत्तिरहेका छन् भनेर हिँड्दै हुनुहुन्छ । नेपालको राजनीतिमा १० सिट भएकाले प्रधानमन्त्री बन्न खोज्नु कत्तिको सान्दर्भिक हो त्यही पार्टीका सांसदले पनि मूल्यांकन गरेका होलान्,’ उनले भने ।

प्रकाशित : वैशाख २५, २०८१ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?